Sunday, May 27, 2018

श्रीनिवास रामानुजम

गणित शास्त्रका मूर्धन्य विद्वाने श्रीनिवास रामानुजमको जन्म सन् १८८७ डिसेम्बर २२ मा दक्षिण भारतको कोयंबुटरस्थित इरोड गाउँमा साधारण बा्रह्मण परिवारमा भएको थियो । रामानुजमका बाबा कपडा पसलमा लेखापालको नोकरी गर्थे । आमा धर्मकर्ममा ज्यादै रुचि राख्थिन । रामानुजमलाई पनि धर्मकर्ममा रुचि थियो । यसैकारण उनले कलिलो उमेरमा नै वेद, उपनिषद तथा रामायण–महाभारत कण्ठ पारिसकेका थिए ।
रामानुजमले तोते बोलीमा वैदिक ग्रन्थका श्लोकहरु फरर्र भन्दा ठूलाठूला विद्वानसमेत आश्चर्यचकित पर्थे । उनले श्लोकहरुबाट नै गणितका सूत्रहरु बनाउँथे । ती सूत्रहरुबाट गणित हल गर्थे । जोड, घटाउ, गुणन तथा भागका कतिपय गणनाहरु त उनले मौखिक रुपमा नै हल गर्ने गर्थे । उनको यो अदभूत प्रतिभाका कारण सानैदेखि चर्चा फैलिएको थियो ।
रामानुजमले सन् १९०३ मा १० कक्षा उत्तीर्ण गरे । सानैदेखि तीक्ष्ण बुद्धिका धनी श्रीनिवासले अन्य विषयको तुलनामा गणितमा औधी रुचि राख्थे । त्यसैले सधैभरि गणितका समस्या समाधानतिर लागिरहन्थे । गणितका नयाँ–नयाँ सूत्रहरु बनाउथे । त्यसमै घोत्लिन्थे । उनका लागि गणित नै सर्वस्व थियो । तर यो कुरा उनका बाबु–आमालाई पटक्कै मन पर्दैनथ्यो । बाबु–आमा छोराले छिटो इलम गरोस्, पैसा कमाओस् भन्ने चाहन्थे ।
सन् १९०९ मा २२ वर्षको उमेरमा रामानुजमले जानकीदेवीसँग विवाह गरे । अनि सन् १९१३ देखि उनी श्रीमतीसँग मद्रास(हाल चेन्नई) मा बसोबास गर्न थाले । तर त्यहाँ उनलाई ठूलो आर्थिक संकट प¥यो । लेखापालको जागिरले हातमूख जोड्न धौ–धौ भयो । उनले आर्थिक संकट टार्न क्याम्पसका विद्यार्थीलाई ट्युसन पढाउन थाले । त्यहाँ उनका थुप्रै शुभचिन्तक थिए । यसैबीच शुभचिन्तकहरुले रामानुजमलाई क्याम्ब्रिज विश्वविद्यालयका गणित प्रोफेसर जीएच हार्डीसँग पत्राचार गर्न सुझाव दिए । रामानुजमले हार्डीलाई चिठी लेखे ।
चिठीपत्र आदानप्रदानका क्रममा रामानुजमले हार्डीलाई थुप्रै गणितका सूत्र पठाए । तर हार्डीजस्ता गणितका विद्वानले समेत रामानुजमले पठाएका कतिपय गणितका सूत्रहरु बुझ्न सकेनन् । रामानुजमको अदभूत प्रतिभा देखेर हार्डीले उनलाई बेलायत बोलाए । तर रामानुजमलाई बेलायत जाने खासै रुचि थिएन । आर्थिक समस्या पनि थियो । त्यस समय उनलाई मद्रास विश्वविद्यालयबाट शोधवृत्ति पनि मिलेको थियो । जसका कारण पूरा समय उनले शोधकार्यमा लगाउन पाएका थिए ।
 रामानुजम ट्रिनिटी कलेज बेलायतमा.

उता प्रोफेसर हार्डी जसरी पनि रामानुजमलाई बेलायत झिकाउने प्रयासमा थिए । अन्ततः रामानुजमले हार्डीको अनुरोध स्वीकार गरे । रामानुजमको जीवनमा नयाँ मोड आयो । उनले लेखापालको जागिर छोडे । र अप्रिल ७, १९१४ मा बेलायत गए । त्यहाँ गएर क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा भर्ना भए । पढाइका लागि उनले मद्रास विश्वविद्यालयबाट वर्षको २५० पाउन्ड र कलेज तर्फबाट ६० पाउन्ड छात्रवृत्ति पाउने भए । पाँच वर्षको बेलायत बसाइमा उनले बेलायतका प्रतिष्ठित पत्रिकाहरुमा २१ वटा शोधमूलक लेख तयार गरे । तीमध्ये पाँचवटा हार्डीसँग मिलेर लेखेका थिए ।
सन् १९१८ फेब्रुअरीमा उनी फेलो अफ द रोयल सोसाइटी (एफआरएस) मा निर्वाचित भए । यो बेलायतको उच्च सम्मान हो । यो सम्मान पाउने उनी दोस्रो भारतीय थिए ।त्यसै वर्षको अक्टोबर १३ तारिखमा उनी ट्रिनिटी कलेजको फेलो चुनिए । यो सम्मान पाउने उनी पहिलो भारतीय थिए । यसबापत उनले वर्षको २५० पाउण्ड पाउन थाले ।
रामानुजम गणितमा यति तीक्ष्ण थिए, उनले नजानेका कुनै सूत्र थिएनन् । उनले बनाएका कतिपय गणितीय सूत्र त अझ पनि हल हुन सकेको छैनन् । रामानुजमको यही प्रतिभाको कारण उनको प्रसिद्धि संसारभर फैलिएको थियो । विश्वभर उनका प्रशंसक थिए । प्रोफेसर जीएच हार्डी समेत उनका जबरजस्त प्रशंसक थिए ।
एकपटक विश्वका प्रसिद्ध र विशिष्ट व्यक्तिहरुको मूल्यांकन गर्दा हार्डीले अधिकांश गणितिज्ञहरुलाई १०० मा ३५, ४० अंक दिएका थिए । अन्य विशिष्ट व्यक्तिलाई समेत ५०, ६० अंक दिएका थिए । तर रामानुजमलाई १०० अंक नै दिए ।
रामानुजमले कलिलो उमेरमा नै चमत्कारीक सफलता प्राप्त गर्दै थिए । तर शुद्ध साकाहारी रामानुजमलाई बेलायतको हावापानी, खानपिन तथा रहनसहन उपयुक्त भएन । उनलाई क्षयरोगले छोयो । उत्ति बेला क्षयरोग ज्यादै खतरनाक रोग मानिन्थ्यो ।यसको औषधि थिएन ।
रामानुजम भारत फर्किए । आफ्नो शोधखोजलाई पनि अगाडि बढाए । तर क्षयरोगले उनलाई धेरै दिन बाँच्न दिएन । अन्ततः सन् १९२० अप्रिल २६मा ३३ वर्षको कलिलो उमेरमा यी महान पुरुषको देहान्त भयो । यसरी एक प्रसिद्ध म्याथम्याटिकल माइन्डले आफ्नो भौतिक शरीर छोडेर गए ।
भौतिक रुपमा रामानुजम यस संसारमा छैनन् । तर उनले गणितका क्षेत्रमा गरेको महान् कार्यका कारण उनी अहिले पनि जीवित छन् । रहिरहनेछन् । भारतले रामानुजमको जन्म दिन २२ डिसेम्बरलाई ‘गणित दिवस ’ का रुपमा मनाएर उनलाई सम्झिने गरेको छ ।


No comments:

Post a Comment